काठमाडौं – सत्तापक्षीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली काङ्ग्रेसका एक नेताले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको बैठक हिजो बुधबार पनि बसेको थियो । सो बैठकले छिटो मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रीहरु टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो । बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । हाल सरकारमा काङ्ग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।