काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छान्न पार्टीभित्र सकस परेको छ । मन्त्री छान्ने विषयमा हिजो बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक समेत बोलाउनु भएको थियो । बैठकले मन्त्रीको टुङ्गो लगाउन पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणीे समितिका एक नेताले बताउनुभयो ।

मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो । बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले समितिका एक सदस्यले जानकारी दिनुभयो । समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताउनुभयो । यादवले भन्नुभयो– ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो । यसमा विचार गर्नुपर्छ भन्ने सुझाव आएको छ ।’

स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दवाब आएको छ । मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउने बाध्यता यादवलाई छ । मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राख्नुभएको छ । निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिनुभएको थियो । उहाँलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दवाब परेको छ ।