काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आफू पक्षीय सांसदहरूले दबाब दिएका छन् । आज बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दवाब दिएका हुन् ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताउनुभयो । ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो, सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’

एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा हुनुहुन्छ । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् । बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।