काठमाडौं – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद् पदमा पुनर्बहाली गर्न माग गर्दै आज बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सांसद पद रिक्त भएको जानकारी दिनुभएको थियो ।

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । चार पूर्वमाओवादी नेताले आफूहरु नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुबै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरुले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताएका छन् ।

हेर्नुहोस् रिट: