काठमाडौं – कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यार्थीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टरको अवधारणा अनुसार परीक्षा लिने जानकारी दिनुभएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव अर्यालले लकडाउनका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । यहि साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका १ हजार, ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका ८९ विद्यालयहरु छन् । सबै विद्यालयहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई छ ।

छलफलमा सांसद् बिद्या भट्टराईले लकडाउनपछि स्नातक तहको पढाइ नै नभएको उल्लेख गर्दै लकडाउनका कारण विद्यालयमा गुणस्तरीय शिक्षा नभएकोले विद्यार्थीले कसरी परीक्षा दिने भन्दै प्रश्न गर्नुभएको छ । सांसद अञ्जना बिसंखेले लकडाउनका कारण विद्यार्थीको परीक्षा खस्कने अवस्थामा रहेको बताउनुभयो । उहाँले विद्यार्थी अनलाइन कक्षा भन्दै मोबाइलमा गेम खेलेर बस्ने गरेको र लगातार विद्यालय बन्द हुँदा असामाजिक बन्दै गएको उल्लेख गर्नुभयो ।

यस्तै गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा गर्न सहज नहुने बताउनु भएको छ । छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड सङ्कट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पुर्याएर परीक्षा सञ्चालन गर्ने जानकारी गराउनुभयो ।