काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।

यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने एक अधिकारीले जानकारी दिएका छन् । सत्तापक्षका शीर्ष नेताहरुको बैठकमा काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायतका शीर्ष नेताहरुको सहभागीता थियो ।