काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उहाँको सचिवालयले जनाएको छ । आज बुधबार मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको भन्दै सामाजिक सञ्जालमा वक्तव्य साझा गरिएको थियो । तर प्रचण्डका स्वकिय सचिव विष्णु सापकोटाले सो पत्र झुठो रहेको बताउनु भएको हो ।

प्रचण्डका स्वकिय सचिव सापकोटाका अनुसार, ‘त्यो पत्र झुठो हो । अफवाह हो । अध्यक्षबाट वा स्थायी कमिटीबाट त्यस्तो पत्र जारी भएको छैन । बदनाम गर्न नक्कली पत्र बनाइयो ।’ सामाजिक सञ्जालमा प्रचण्डले जारी गरेको भन्दै सार्वजनिक गरिएको पत्रमा एमसीसीको समर्थन गरिएको र कार्यान्वयनका लागि तल्लो तहसम्म लैजाने उल्लेख छ ।