काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुगेको बताउनुभएको छ ।

आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ– ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तको लागि सरकार र संसद् दुवैसँग नयाँ अपेक्षाहरु छन् ।’अघिल्लो सरकारले संसदलाई हेप्ने र अदालतलाई हप्काउने काम गरेको उहाँको भनाइ छ ।

थापाले संसदमा भन्नुभयो –‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाइ दिने तर आफू आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तै–यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

नयाँ सरकारलाई अघिल्लो सरकारको जस्तो अपराध गर्ने छुट नभएको उहाँको भनाइ छ । उहाँले, ‘नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन । यस्तो हुन नदिन संसद्ले पनि सङ्कल्प गर्नु पर्नेछ । न त यो संसद्लाई वेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउन । न त मनोमानी ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न नै भन्नुभएको छ ।’

संसद् सरकारसँग डराउने नभइ सरकार संसद्सँग डराउनुपर्ने उहाँको भनाइ छ । ‘यो संसद् सरकारसँग डराउने होइन । सरकार यो संसद्सँग डराउनु पर्नेछ, सांसदको प्रश्नसँग, संसद्को निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि छ । यो संसद् जोगाउन लाग्ने प्रत्येक सांसदको छ ।’उहाँले अब सभामुख र सांसदको कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।