काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा छलफल भएको थियो । यद्यपि, बालुवाटार स्रोतका अनुसार अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तारमा केही समय ठिलाइ हुनसक्ने छ ।

काङग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता वितिसक्ता पनि सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धनको घटक जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई हिजो निर्वाचन आयोगले टुङ्गो लगाएपछि जसपालाई अब सरकारमा जान सहज भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादलले साउनको दोस्रो हप्ता पछि सरकारमा सहभागी बताउनु भएको थियो । यता एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष ओलीबीचको कटुताले पनि सरकार विस्तारमा ढिलाई भएको देखिन्छ । नेता नेपालले गठबन्धनलाई साथ दिंदै आउनु भएको छ । एमाले पार्टीको विवाद निरुपण नभै नेता नेपालको तर्फबाट सरकारका जाने नजाने विषयमा टुङ्गो लाग्ने देखिंदैन ।


आफु प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो चरणमा काङ्ग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाउनु भएका देउवालाई आफ्नै पार्टी भित्रको विवाद र गठबन्धन दलहरुलाई मिलाएर लैजान समस्या परेकोले पनि मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भैरहेको छ । प्रधानमन्त्री देउवाले दुई दिन अघिमात्र स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा व्यवसायी एवम् सांसद् उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले नेपाल काङ्ग्रेस भित्रै पनि विरोध भैरहेको छ ।