काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका उपेन्द्र यादव समूहलाई जसपाको मान्यता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरेको थियो । तर जसपाबाट टुक्रिएर नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद गुम्ने कि नगुम्नेबारे आयोगको फैसला मौन छ ।

दल सम्बन्धी व्यवस्थामा पार्टी केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुगे मात्रै नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद नगुम्ने प्रचलित कानुन छ । यो संख्या ठाकुर समूहसँग छैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुर समूहले गल्ती स्वीकार गर्दै आत्मालोचना गरेर आए पार्टीको ढोका खुल्ला हुने बताएका छन् ।