काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका नाममा दस्तावेज सार्वजनिक गरी स्थानीय तहलाई सुदृढ गर्दै सङ्घीयता खारेजीको प्रस्ताव अघि सार्नुभएको छ । उहाँले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रहको प्रस्ताव अघि सार्नुभएको हो ।

मिश्रको उक्त प्रस्तावप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ– ’झिङ्गाको सरापले डिङ्गा मर्दैन ! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरङ्गित हुन पर्दैन ।’

डा.भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएकाले डराउनु नपर्ने उल्लेख गर्नुभएको छ । ’सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनु पर्दैन,’ भट्टराईले लेख्नुभएको छ, ’बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् !’