काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । अहिले बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने भन्ने बारेमा पनि छलफल हुने काङ्ग्रेस स्रोतले बताएको छ ।

आगामी भदौको तेस्रो साता हुने भनिएको पार्टीको १४ औं महाधिवेशनका निम्ति क्रियाशील सदस्यता वितरणमा देखिएको विवादका कारण स्तानीय तहको अधिवेशन नै रोकिन पुगेको छ । यसले काङ्ग्रेसको महाधिवेशन नै प्रभावित हुनसक्ने सम्भावना छ । ललितपुरस्थित सानेपामा रहेको पार्टी मुख्यालयमा क्रियाशील सदस्यताको विषयलाई लिएर कार्यकर्ताहरु दुई सातादेखि अनसन बसेका छन् । क्रियाशील सदस्यताको विवाद मिलाउन पार्टीले रमेश लेखकको संयोजकत्वमा कार्यदल बनाएर छानविन गरेको थियो ।

उक्त कार्यदलले आज पदाधिकारी बैठकमा प्रतिवेदन बुझाउने छ । देशभरका एक सय २५ वडामा क्रियाशील सदस्यतासम्बन्धी विवाद रहेको छ । क्रियाशील सदस्यता विवाद अहिलेसम्म समाधान गर्न नसकेको काङ्ग्रेसलाई पूर्वनिर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न समस्या पर्ने देखिएको छ । काङ्ग्रेसलाई कुनैपनि हालतमा १४ औं महाधिवेशन भदौं तेस्रो सातामै सक्नु पर्ने दवाव छ । क्रियाशील सदस्यता सम्बन्धी विवादले साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यसको प्रभाव स्थानीय, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनमा पर्न सक्ने देखिन्छ । तर, पार्टी नेतृत्व भने कुनैपनि हातलमा पूर्व निर्धारित समय भदौं १६ गतेदेखि १९ गतेसम्ममा महाधिवेशन हुने भन्दै आएको छ ।