काठमाडौं – नेकपा एमाले असन्तुष्ट पक्षको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकता भाड्ने गरी वाक युद्धमा नलाग्न आग्रह गरेको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको नेता नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा पार्टी एकताको विकल्प नभएको निष्कर्ष निकाल्दै एकअर्कालाई आरोप लगाउने बहानामा मानमर्दन हुनेगरी सार्वजनिक अभिव्यक्ति दिन नहुनेमा सुझाएको हो ।

आजको स्थायी कमिटीको बैठकले पार्टी एकता गर्ने थप प्रयास गर्ने निर्णय गरेको छ । आजको बैठकबाट एकताको लागि वातावरण बनाउने र दुवै शीर्ष नेतृत्वले संयम्ता अपनाएर जानु पर्ने नेता नेपालका विश्वास पात्र रधुजी पन्तले जानकारी दिनुभएको हो । स्थायी कमिटीका सदस्य पन्तले ‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टी एकताका प्रयासहरुलाई विथोलिने गरी अभिव्यक्ति दिनु भएन् । यसलाई दुवै पक्षबाट रोक्न आग्रह छ । हामी एकता चाहन्छौं । यसको विकल्प छैन ।’ बैठकमा सामेल भीम आर्चायले एकताबाट आफूहरु पछि नहटेको बताए ।

नेता पन्तले ‘हामी चाँडोभन्दा चाँडो केपी र माधव कमरेडबीच वार्ता गराउने पहलमा छौं । यसमा केन्द्रित हुनुपर्ने हाम्रो माग छ । पार्टी एकता भाड्ने अभिव्यक्ति जो कसैले दिन हुन्न भन्नेमा हामी एक मत छौं’ भन्नुभएको छ ।