काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने भएको छ । आज सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले प्रदेश दुईका राजेश झा, गण्डकी प्रदेशकी सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख धर्मानन्द यादवलाई बर्खास्त गरी ती प्रदेशहरुमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दैछ ।


तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नम्बर प्रदेशका प्रमुख तिलक परियार, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेशकी प्रमुख शर्मिला पाठकलाई बर्खास्त गरी प्रदेश दुईमा राजेश झा, गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेशमा धर्मानन्द यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । तात्कालीन प्रधानमन्त्री केपी ओलीले त्यतिबेला बर्खास्त गरेका तीनै जना प्रदेश प्रमुखहरु नेकपा (माओवादी केन्द्र) निकट भएकै कारण उनीहरुलाई प्रदेश प्रमुखको जिम्मेवारीबारी बर्खास्त गरिएको थियो ।


प्रदेश दुईका झा, गण्डकी प्रदेशकी सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका धर्मानन्द यादव तीनै जना ओली निकट व्यक्ति हुन् । प्रधानमन्त्रीको रुपमा ओली दोस्रो पटक नियुक्त भएपछि त्यसभन्दा पहिले देउवा नेतृत्वको काङ्ग्रेस सरकारले गरेको ७ वटै प्रदेशका प्रमुखलाई हटाएर प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेका थिए । आज बस्ने मन्त्रिपरिषद्को बैठकले क–कसलाई नियुक्त गर्ने भन्ने सार्वजनिक भएको छैन । मन्त्रिपरिषद्को बैठक आज तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।