काठमाडौं – दुई धारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने लगभग पक्का भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमध्ये कसले पार्टीका आधिकारिकता पाउने भनेर विवाद टुङ्ग्याउन निर्वाचन आयोगले आज कार्यकारिणी समितिका सदस्यहरुको टाउको गन्दैछ । आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुलाई विवाद टुङ्ग्याउन आज सोमबार ११ बजे लागि आयोगमा उपस्थित हुन भनेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा रहेको दुई हप्ता अघि पाँच सदस्यीय इजालस गठन भएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाको इजलासले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराइ पार्टीको आधिकारिकता कुन समूहले पाउने भन्ने निर्योल हुने भएको छ । आयोगले पार्टी एकता हुँदा कार्यकारिणी समितिमा रहेका सबै ५१ जना सदस्यहरुलाई नै सनाखतको लागि अयोगमा उपस्थित हुन साउन ७ गते बिहिबार निर्देशन दिएको थियो ।

पार्टी एकता भै निर्वाचन आयोगमा दल दर्ताहुँदाका सबै सदस्यहरुलाई नागरिकता वा मतदाता परिचय पत्रको सक्कल कागज लिएर उपस्थित हुन भनिएको छ । सोही आधारमा आयोगले आज सोमबार सनाखत गर्न लागेको हो । केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गरेर कसको पक्षमा बहुमत छ भन्ने प्रमाणित गरेर सोही अनुसार जसपाको आधिकारिकता सम्बन्धी विवाद किनारा लाग्ने छ । जसपाको विवाद आजै टुङ्गिने भएको छ । निर्वाचन आयोगको इजलासले आदेश गर्दा आजका लागि फैसलाको मिति समेत तोकेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले ५१ मध्ये ३० भन्दा बढी कार्यकारिणी सदस्य आफूसँग रहेको दावी गर्दै आएको छ । उता, अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिमा सदस्य परिवर्तन गरेर आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएको भएता पनि पछि हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता दिएन । पार्टी एकता भएर बनेको जसपा निर्वाचन आयोगमा दर्ता हुँदाका कार्यकारिणी सदस्यहरुको बहुमत उपेन्द्र यादवको पक्षमा रहेकोले जसपा उपेन्द्र यादवको पोल्टामा जाने सम्भावना बलियो छ ।

यता अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सशरीर उपस्थित गराउन भनि दिएको दिर्नेशनका विरुद्ध कानुन संवत नभएको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई साउन १५ गतेका लागि बोलाएको छ । त्यस अघिनै आज निर्वाचन आयोगले जसपाको विवाद टुङ्ग्याउन लागेको छ ।