काठमाडौं – नेकपा एमाले असन्तुष्ट समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी भित्रको उत्पन्न विवाद समाधान र देशको बदलिंदो राजनीतिक अवस्थाका बारेमा भावि रणनीति के कसरी तया गर्ने भन्ने सम्बन्धमा वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो । विशेष गरी आजको बैठक पार्टी एकताको विषयमा केन्द्रित हुनेछ । उक्त समूहको बैठक हिजो आइतबार पनि बसेको थियो । हिजो बसेको बैठकमा स्थायी कमिटी धेरै सदस्यहरुले नेतृत्वलाई पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाएका थिए ।


हिजोको बैठकमा पार्टीभित्रको विवाद समाधान कार्यदलले पार्टी एकताका लागि निकालेको १० बुँदे प्रस्तावमा समेत छलफल भएको थियो । हिजोको बैठकमा नेपाल समूहबाट प्रतिनिधित्व गर्नुभएका सदस्य एमाले उपाध्यक्ष भीम रावलले उक्त कार्यदलको १० बुँदे सहमतिका बारेमा बिफ्रिङ गर्नुभएको थियो । यद्यपि, उक्त १० बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले त्यतिबेलै असन्तुष्टि प्रकट गर्दै आउनुभएको छ ।

पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउनु पर्ने भन्दै एमालेका सांसद्हरुले विघटित कार्यदलका सदस्यहरुसँग समेत छलफल गरेका छन् । एमालेको दुवै खेमाको अभिव्यक्ति र कार्यशैली हेर्दा तत्काल एकता हुन सक्ने अवस्था देखिंदैन । एमालेको दुवै पक्ष पार्टी फुटाउन नचाहे पनि यथास्थितिमा पार्टी भित्रको विवादलाई मिलाउन निकै ठूलो गृहकार्य गर्नुपर्ने देखिन्छ ।