काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइसर सङ्क्रमको महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सञ्चालन गरेको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भै दिने भएका हुन् ।
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको छ भने भोलिबाट व्यवस्थापन सङ्कायका परीक्षाहरु शुरु हुँदैछ । आजबाट ‘रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं, विद्यार्थीहरु अलमोस्ट सबै सहभागी भएका छन्’, परीक्षा नियन्त्रक जोशीले भन्नुभयो ।

देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिए पछि त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् । परीक्षा नियन्त्रक जोशीले परीक्षा दिन प्रवेश पत्रको लागि केही प्राविधिक समस्या आएको स्वीकार्दै त्यसका लागि अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर विद्यार्थीले सहज रुपमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको बताउनु भयो । अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने उहाँको दावि छ । ‘परीक्षा दिन आएकालाई परीक्षामा बसाउनुस् पछि सच्याउँछौं भनेका छौं, जे होस् राम्रो भयो, सबैजसो उपस्थित भएका छन्,’ परीक्षा नियन्त्रक जोशीले भन्नुभयो । त्रिविविले आज बिहान सात बजेबाट परीक्षा सञ्चालन गरेको थियो ।