काठमाडौं – भूमिगत जीवनबाट सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीति भेटघाटलाई तिव्रता दिनुभएको छ । देशका ठूला पार्टीका शीर्ष नेतृत्वलाई भेटिसक्नु भएका महासचिव ‘विप्लव’ ले आज शनिबार पूर्व माओवादी तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग भेट गर्नु भएको छ ।

महासचिव ‘विप्लव’ एमाले नेता बादललाई भेट्न आफ्ना सहकर्मी नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरलाई लिएर बालद निवास पुग्नु भएको थियो । महासचिव ‘विप्लव’ र एमाले नेता बादलबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ । तत्कालीन एकिकृत नेकपा माओवादीमा सैद्धानिक, वैचारिक र कार्यदिशमा मतभेद भएपछि पार्टी अध्यक्ष प्रचण्डलाई छोडेर मोहन वैद्य ‘किरण’ सँगै ‘विप्लव’ र बादल एकैसाथ रहनुभएको थियो ।


त्यसपछि नेता ‘विप्लव’ सशस्त्र आन्दोलन गर्ने भन्दै मोहन वैद्यबाट अलग हुँदै नेपाल कम्युनिष्ट पार्टीको महासचिव भएर भूमिगत हुनुभएको थियो भने रामबहादुर थापा ‘बादल’ वैद्यसमूहमा बसेर पछि पुनः प्रचण्डले नेतृत्व गर्नुभएको माओवादीमा पुनः पार्टी एकता गर्नुभएको थियो । पछिल्लो समय बादल एमालेमा विलय हुनुभएको छ भने ‘विप्लव’ नेकपाको नेतृत्व गरिरहनु भएको छ । महासचिव ‘विप्लव’ वृहित्त कम्युनिस्ट एकता हुनु पर्ने, त्यो नभए कम्तिमा पनि हिजो एकैठाउँमा जनयुद्ध लडेका तर अहिले विभिन्न समूहमा रहेकाहरु पुनः एकता गरेका जानु पर्ने या साझा एजेण्डा बनाएर सहकार्य हुनुपर्नेमा ‘विप्लव’ को जोड रहेको छ ।