काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको उक्त बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी गराउनु भएको हो ।

आगामी मङ्गलबार क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि सबै तहका अधिवेशनको नयाँ कार्यतालिका बारे छलफल गरी निर्णय हुने भएको छ । मङ्गलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुङ्गिएको र निर्वाचन समितिले पनि काम पूरा नगरेपछि महाधिवेशनको कार्यतालिका हेरफेर हुने नेता केसीले बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार अधिवेशन लगभग १० दिन पर सर्नेेछ । काङग्रेस महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म हुने कार्यतालिका थियो ।

निर्धारित कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यतालिका सार्वजनिक भएको थियो । त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारित थियो ।

हिजो बसेको सोही बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनको तालिका दुई चारदिन पर सारेर विवाद समाधान गर्ने र महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्मको तोकिएको मितिमै गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।