फाइल तस्वीर
काठमाडौं । क्रियाशील सदस्यता विवाद र स्थानीय तहको अधिवेशन र महाधिवेशनको कार्यतालिका बारे आज नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार पदाधिकारी बैठक बस्न लागेको हो । बैठक काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।

काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए अनुसार बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । शुक्रबारदेखि जारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मितिको बारेमा आज निर्णय हुनेछ । कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेमा अहिलेसम्म क्रियाशील सदस्यता सम्बन्धी विवादको टुङ्गो लागेको छैन ।

क्रियाशील समस्यता सम्बन्धी विवादले महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएपछि शीर्ष नेतासहितको पदाधिकारी बैठकले नयाँ मिति तय गर्ने बताइएको छ । सभापति देउवाले भदौ १६–१९ सम्मको केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय तहको कार्यतालिका फेरबदल गर्न निर्देशन दिनुभएको थियो । तर महाधिवेशनको मिति नै एक, दुई हप्ता पर धकेलिन सक्नेछ ।

काङ्ग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानूनी बाध्यता छ । विधानत चार वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि एक वर्षको कार्यकाल थपेको थियो । पाँच वर्षमा केन्द्रदेखि प्रदेश तहहुँदै तल्लो तहसम्मका पदाधिकारीको निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ । तर कुनै कारणले पाँच वर्षमा निर्वाचन गर्न सम्भव नभए राजनीतिक दलसम्बन्धी ऐनले बढिमा ६ महीना थप पर्न सक्ने सुविधा दिएको छ ।
काङ्ग्रेसले कानूनले दिएको ६ महिनाको सुविधा प्रयोग गर्दै भदौमा महाधिवेशनको मिति तय गरेको हो । तर पार्टीभित्र क्रियाशील सदस्यताको विषय पेचिलो बन्दै जाँदा महाधिवेशन कार्यतालिका प्रभावित हुन पुगेको हो ।