काठमाडौं – राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा भाग लिने सदस्यले अन्तर्राष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिएका छन् ।

काङ्ग्रेस नेता प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्ष्य गर्न, मजदुर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानबिन गर्न माग गर्नुभएको छ । नेकपा एमालेका खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो कि भन्ने आशङ्का बढेको बताउनुभयो । उहाँले ‘अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ ?’ उहाँले संसद्मा एमालेले रचनात्मक भूमिका खेल्ने पनि बताउनुभयो ।

यस्तै, नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गर्नुभयो । उहाँले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पार्नुभयो । ‘देउवा सरकारले कसरी विश्वासको मत प्राप्त ग¥यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ’, सांसद शर्माले भन्नुभयो । यस्तै, एमाले नेत्री भगवती न्यौपानेले एमालेले न्यायालयको फैसलाको सम्मान गरे पनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गर्नुभएको छ । सांसद न्यौपानेले भन्नुभयो– ‘अदालतको फैसला निर्दलीयताको पक्षमा छ, सिधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ, ।

यसैगरी, एमाले नेता रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताउनुभयो । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन उहाँले माग गर्नुभएको छ । यस्तै, नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ’ । विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरले सरकारसँग माग गर्नुभएको छ । यस्तै, नेकपा माओवादी केन्द्रका सांसद विना पोखरेलले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ ।

यसैगरी, नेकपा एमालेका सांसद दिलकुमारी थापा रावलले सर्वाेच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउने आशङ्का रहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण बढिरहेका बेला सरकारको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिनुभयो । यस्तै, काङ्ग्रेस नेता जितेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताउनुभयो । उहाँले ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिदैं सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने बताउनुभयो । –रासस