काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिनुभएको छ । सरकार, संसद् र सडकमा भएका कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने भन्दै उहाँले सडकमा भएका कम्युनिस्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गर्नुभयो । अध्यक्ष वैद्यले भन्नुभयो– ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो । पानीजहाज र रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ । यस्तै बुद्धिले रेल आउँछ र ?