काठमाडौं –नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता सम्बन्धी विवादले महाधिवेशन नै प्रभावित हुने हो कि भन्ने अवस्था देखिएको छ । विवाद समाधान गर्न पदाधिकारी र आमन्त्रित पूर्वपदाधिकारीहरुको संयुक्त बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा व्यापक छलफल गरेको छ । यसैबीच भोलि शनिबार बस्ने पदाधिकारी र पूर्वपदाधिकारीहरु बैठकले कार्यतालिका संशोधन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ । प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्न निर्देशन दिनु भएको छ ।
क्रियाशील सदस्यता सम्बन्धी उत्पन्न विवाद समाधान गर्न काङ्ग्रेसले छानविन समिति समेत गठन गरेको थियो । क्रियाशील सदस्यताका विषयलाई लिएर केही कार्यकर्ताहरु पार्टी कार्यालयमा धर्ना बसेका छन् । सभापति देउवाले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गते नै हुने गरी बाँकी कार्यतालिका तयार गरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यता सभापतिका आकाङ्क्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले समायोजनका नाममा नयाँ क्रियाशील सदस्यता वितरणमा मापदण्ड उल्लङ्घन भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । जिल्लामा लामो समय काम गरेका नेता कार्यकर्तालाई अल्पमतमा पर्ने गरी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील बाँड्ने काम भएको छ भन्दै वरिष्ठ नेता पौडेलले मापदण्ड विपरीत वितरण गरिएका क्रियाशील सदस्यता सच्याउनु समेत आग्रह गर्नुभएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कामका बारेमा बैठकमा व्रिफिङ गर्नु भएको थियो । संयोजक लेखकले शनिबार साँझसम्म समितिको अन्तिम प्रतिवेदन सभापति देउवालाई बुझाउने बताउनु भएको छ । क्रियाशील सदस्यताको विवाद काम समयमै नटुङ्गिंदा काङ्ग्रेसको स्थानीय अधिवेशन सर्ने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार साउन १२ गते वडाको अधिवेशन गर्नुपर्ने कार्यतालिका छ । तर अब यो मिति सर्ने पक्का छ ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले स्थानीय अधिवेशननको कार्यतालिका परिमार्जनबारे निर्णय गर्न भोलि शनिबार पुनः पदाधिकारी बैठक बस्ने बताउनु भएको छ । नेता केसीका अनुसार भोलि शनिबार बस्ने पदाधिकारी बैठकले स्थानीय अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने छ । वडादेखि प्रदेश महाधिवेशनको मिति परिमार्जन हुनेछ । काङ्ग्रेसको स्थानीयदेखि केन्द्रसम्म सात वटा तहगत महाधिवेशन गर्नु पर्ने छ ।