काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भीड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने भीड थामिनसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप कार्डमा उल्लेखित विवरण अङ्ग्रेजीमा नभर्ने हुँदा र आधिकारिक छाप नहुँदा खोप कार्ड प्रमाणीकरण गर्न लाइन बस्नेको सङ्ख्या बढ्दै गएको हो । त्यसैले विदेश जानेहरू अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा पुगेको सङ्ख्या बढेको हो । खोप नलगाई विदेश गएमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने भएकाले खोप लगाएर जान चाहने धेरै छन् ।