काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेमा जगबको नाटक मञ्चन भैरहेको छ । यसका खलपात्र अध्यक्ष केपी शर्मा ओलीले कतिखेर के बोल्नुहुन्छ भन्ने कसैले हेक्का राख्न सक्दैन । पार्टीको अध्यक्ष जस्तो व्यक्तिले लहडमा बोल्दै आउनु भएको छ । हिजो के बोलेको थिएँ, आज के बोल्दै छु भन्ने सामान्य हेक्का समेत राख्न सक्नु भएको छैन । उहाँमा राजनीति र मानसिक रुपमा आफुले अमान्जस्यता महसुस गर्नु भएको छ भन्ने कुरा उहाँका पछिल्ला अभिव्यक्तिबाट प्रष्ट हुँदै गएको छ ।


नेतृत्व भनेका अभिभावकीय जिम्मेवारी बहन गर्न सक्ने क्षमता हो । नेतृत्वले सबैलाई सन्तुलन र समान व्यवहार गर्नुपर्ने हो । तर ओलीले त्यो क्षमता देखाउन सक्नु भएन । माओवादी केन्द्रसँगको पार्टी एकता त जोगाउन सक्नु भएन भएन, आफ्नै पार्टी एमालेलाई समेत फुटको सङ्घारमा पुरयाउनु भएको छ । एकलौटी रुपमा पार्टी कमिटी थपघट र विभाजनसम्मको अवस्था पुग्दा एमालेमा ठूलो अन्तरद्वन्द्व पैदा भएको छ । उहाँ सरकार र पार्टी अध्यक्षको नेतृत्वदायी भूमिकामा असफल सावित हुनु भयो । आफैं प्रधानमन्त्री र पार्टीको सर्वेसर्वा भएको अवस्थामा माओवादी केन्द्रसँग एकता टुटाउनु, पछि एमाले भित्रै आफु इतर पक्षलाई आफ्नो एकलौटी निर्णय लाग्दै पार्टीभित्र अन्तरद्वन्द्व चर्काएर पार्टी विभाजनको सङ्घारमा पुर्याउनु, पार्टी वरिष्ठ नेताहरुलाई निष्काशन–फुकुवा– निलम्बन फेरी कारवाहीको घोषणा गर्दै सार्वजनिक रुपमा अपमान गर्नु जस्ता अध्यक्ष ओलीमा देखिएको राजनीतिक, वैचारिक विचलन मात्र नभै मानसिक आवेग र उत्तेजनाको उपज हो भन्ने देखिन्छ ।


उहाँ आफैंमा मौलाएको एकलौटी राजनीतिक जीवनको उत्तरार्धमा आफुलाई कलङ्कित र बदनामीको शिखरमा पुर्याउनु भयो । यो उहाँको राजनीतिक जीवनको चरम असफतला हो । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै वृहत्त कम्युनिष्ट पार्टी बनाउने कुरा गर्ने तर व्यवहारमा दम्प, असहिष्णुता, अहङ्कारले एमाले अध्यक्ष ओलीले आफुलाई कमजोर बनाउँदै जानुभएको छ । हिजो सत्तामा बस्दाको जुन राप र तापको ज्वालाले उहाँलाई अन्धो बनाएको थियो, सत्ताबाट च्यूत भएको एक हप्ता नवित्दै ओह्रालो लाग्न सुरु भएको छ ।


अब आफु कमजोर भएको विस्तारै महसुस हुन थालेपछि ओलीको अभिव्यक्ति क्रमशः मन्थर र सहकार्यतिर उन्मुख हुने सङ्केत देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको दिन हिजो बिहिबार पार्टी एकताका लागि भन्दै असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहितका सबैलाई पार्टीमा फर्किन र जिम्मेवारी लिन आग्रह समेत गर्नुभयो । उहाँलाई साथ दिंदै आएका केही सांसदहरुले ओली सत्ताबाट बहिर्गमति भएपछि असन्तुष्ट पक्ष अर्थात् वरिष्ठ नेता नेपाल तिर खुलेरै लागे । अब विस्तारै नेता नेपाल पक्ष बलियो बन्दै जान थालेको बुझेर नै ओलीले सबै कारवारी फिर्ता लिने र जिम्मेवारी दिनेसम्मका कुरा गर्नुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिनुपरे पनि ओली त्यो अवस्थासम्म पुगेको बुझिन्छ ।


गत सोमबारदेखि ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा बसेको पार्टीको दशौं केन्द्रीय कमिटी बैठक सकिनेक्रममा अध्यक्ष ओलीले असन्तुष्ट पक्षका सबै नेताहरुले गरेका कमिकमजोरीलाई माफि दिने भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गर्नुभयो । लगातार चार दिनसम्म चलेको बैठकले आन्तरिक एकता कायम गर्न दश सदस्यीय कार्यदलले गरेको दशबुँदे सहमति अनुमोदन गर्नेदेखि सर्वोच्च अदालतको फैसलाप्रति पार्टीको दृष्टिकोण सहितको निर्णय, आफ्नो नेतृत्वमा सरकारले गरेको कामहरुको समीक्षाका साथै पार्टीलाई मिलाएर अघिबढ्न असन्तुष्ट पक्षका नेता तथा सांसदहरुलाई गरिएको कारवाही फिर्दा गर्नेसम्मका निर्णयहरु गरेको थियो ।


नेकपाका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रम सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ‘आममाफी’ घोषणा गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड’ सम्म भन्नुभयो । किन यसरी ओली एक्कासी ‘यु टर्न’ हुनुभयो ? यसको अर्थ हो उहाँ अब ‘म ओह्रालो लाग्दै छु’ आत्मबोध भएर आफ्नो साख जोगाउन यस्तो अभिव्यक्ति दिनुभएको हुन सक्दछ । अध्यक्ष ओलीले ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने नेपाली उक्तिलाई चरितार्थ गर्दै हुनुहुन्छ ।


सरकारी निवास बालुवाटारबाट बहिर्गमन हुन परेको पीडा भक्तपुरको बालकोट निवास पुगेर वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै अब जतिसुकै माफी मागेर आएपनि उनलाई एमालेमा ठाउँ छैन भनेर बार्दलीबाट चिच्याएको एक हप्ता वित्न नपाउँदै अध्यक्ष ओली यसरी लत्रिनु भनेको अब उहाँको राजनीतिक पराजय उन्मुख छ भन्ने सङ्केत पनि हो । अध्यक्ष ओलीले साच्चिनै विवेक प्रयोग गरेर काम गर्नु भएको भए सायद नेकपा विभाजन र दुई तिहाइको नेतृत्वको सरकारबाट च्यूत हुनुपर्ने थिएन । दुई तिहाइको सरकारको प्रधानमन्त्री र देशकै ठूलो कम्युनिस्ट पार्टीको अध्यक्षको गरिमालाई उहाँले गत कार्तिक ३ गते मध्यरातमा भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको पोल्टामा हालिदिनु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद ‘रअ’का प्रमुख गोयलको पोल्टामा पोखिए पछि उदाङ्गो भयो ।


दुई पटकसम्म प्रतिनिधिसभा विघटनको मुद्दामा पराजय हुनु, राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती र लुम्बिती प्रदेशको परिणामदेखि कर्लाणाी प्रदेशमा भएका फ्लोर क्रश, प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै समूहका सांसदहरुले विश्वासको मत दिनु ओलीको राजनीति जीवनको असफलताका सूचकाङ्क हुन् । ओलीको राजनीतिक यात्रा विस्तारै ओह्रालो लाग्दैछ । आफ्नो सत्ता राप र ताप अनि पार्टी अध्यक्षको साख जोगाउन ओलीले असन्तुष्ट पक्षका सबै कारवाही फिर्ताको घोषणा गर्नुभएको छ । यो असन्तुष्ट पक्षलाई घुँडा टेकाउन सकिन्छ कि भन्ने उहाँको अर्को तुरुप हुनसक्दछ । बालकोटको बार्दलीबाट गद्दार घोषणदेखि शवयात्रा र पुत्ला जलाउनेसम्मका हर्कतहरु के माधवकुमार नेपाललाई अध्यक्ष ओलीको आममाफीले पखाल्ला त !