काठमाडौं – आजदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनालले यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउनु भएको छ । यसले ब्लु बुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्नुका साथै महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ ।

‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो, तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ,’ उहाँले भन्नुभयो, ’पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’

अनलाइनबाटै कर तिर्न सकिने यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने भएको छ ।