काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिनुभएको छ, भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्यवाद दिनुभएको छ ।

यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।