काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गर्नुभएको छ । आज बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताउनुभएका ओलीले गल्ती गरेका, बाटो बिराएकाहरु मिल्न आएको खण्डमा आफूले आममाफी दिने घोषणा गर्नुभएको हो ।

आज पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा ओलीले, ‘गल्ती गरेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड जे सुकै भएको होस्, एम्नेष्टी आउनुस् मिलेर काम गरौँ भन्नुभएको छ ।’

त्यसक्रममा उहाँले पुष्पलाललका विचारहरु पछिल्लो समय जबजले प्रतिनिधित्व गरेको बताउनुभएको थियो । उहाँले आफ्नो जनाआधार बलियो भएको दावी गर्नुभएको थियो ।