काठमाडौं – कोरोना भाइरसको उत्पतिबारे भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको डब्लुएचओको अनुसन्धान योजना चीनले अस्वीकार गरेको उच्च स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । डब्लुएचओले दोस्रो चरणको अध्ययनका लागि प्रस्ताव गरेको थियो ।

डब्लुएचओले प्रयोगशालबाट चुहावट भएको हुन सक्ने सम्भावनालाई पनि खुला राखेर अध्ययनको योजना बनाएता पनि चीनले नमानेको खबरमा उल्लेख छ । चीनको वुहान शहरमा सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसको महामारी झण्डै दुई वर्षदेखि विश्वभर फैलिरहेको छ ।

अहिलेसम्मका अध्ययनहरुले वुहान स्थित समुद्री जीवको मासु बजारबाट मानिसमा संक्रमण फैलिएको देखिने उल्लेख गरेका छन् । तर केही विज्ञ तथा गुप्तचर सूचनाहरुले भने वुहानस्थित प्रयोगशालबाट भाइरस चुहावट भएको हुन सक्ने आशङ्का गरेका छन् । विश्वभरबाट पारदर्शी अध्ययनको माग भइरहेको छ र विश्व स्वास्थ्य सङ्गठनमाथि दबाब बढ्दै गएको छ ।

नेशनल हेल्थ कमिसन (एनएचसी) का उपमन्त्री जेङ्ग यिसिङ्गका अनुसार डब्लुएचओको योजनामा चीनले प्रयोगशाला सम्बन्धी नियम उल्लङ्घन गरेको हुन सक्ने हाइपोथेसिस राखिएको र त्यो विज्ञानको सामान्य अवधारणा विपरित रहेकाले अस्वीकार गरिएको हो । अध्ययनको क्रममा भाइरस चुहावट भएको हुन सक्ने हाइपोथेसिस वस्तुपरक नरहेको र त्यो हुनै नसक्ने उनले रोयटर्ससँग बताएका छन् ।

कोरोना भाइरसको उत्पति कसरी र कहाँबाट भएको हो भन्ने सम्बन्धी अध्ययन विज्ञानमा आधारित भएमा आफूहरुको पूर्ण समर्थन रहेन र यसलाई राजनीतिक प्रभाव वा हितको विषय बनाउन खोजिए स्वीकार्य नहुने चीनको भनाई छ । जुलाईको सुरुमा डब्लुएचओका प्रमुखले चीनबाट कोरोना भाइरसको सुरुवाति संक्रमणका सम्बन्धमा रहेका तथ्यांकहरु नपाउँदा अध्ययन प्रभावित भएको बताएका थिए । तर चीनले भने गोपनियतालाई मध्यनजर गरेर केही तथ्याङ्कहरु पूर्णरुपमा साझा गर्न नमिल्ने बताउँदै आएको छ ।