काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न मन्त्रालयदेखि क्वार्टरसम्म घुइँचो लाग्ने गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र प्रिय नेताको छवि बनाउनुभएका खाँण गृहमन्त्रीमा नियुक्त भएपछि उहाँलाई बधाई दिन पार्टी कार्यकर्ता शुभचिन्तकहरु बिहान सबेरै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुग्ने गरेका छन् । गृह मन्त्रालयमा उस्तै भीडभाड हुने गरेको छ ।

आफूलाई भेट्न आउनेलाई गेटमा अवरोध नगर्न खाँणले सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । त्यसैले, पुल्चोकस्थित मन्त्री क्वाटरको गेटमा उहाँलाई भेट्न चाहनेहरु निर्वाध आवत जावत गर्न पाउने भएका छन् । बिहीबार १० बज्दासम्म भेट्न आएकाहरुलाई समय दिन नसकेपछि खाँणले क्वाटरको आँगनमा संयुक्त रुपमा भेटघाट गर्नुभयो । फोटो खिचाएर हात हल्लाउँदै उहाँ मन्त्रालय लाग्नुभएको थियो ।

मन्त्रालयमा पुग्दा उहाँलाई भेटेर बधाई दिनका लागि १५ जनाको समूह पुगिसकेको थियो । क्वाटरमा जस्तो मन्त्रालयमा चाहिँ आवत– जावतमा त्यति सहज छैन । सिंहदरबारको मुख्य गेट र मन्त्रालयको गेटको सुरक्षा पार गरेर उहाँको सचिवालयमा जानुपर्छ । तैपनि उहाँलाई भेट्न चाहने कार्यकर्ता र शुभचिन्तकहरु घटेका छैनन् । दिनानुदिन बढ्दैछन् ।