काठमाडौं – आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर मानिने पुष्पलाल श्रेष्ठको सम्झना गर्दै विभिन्न कार्यक्रम गरी सम्झने गरिन्छ । संस्थापक महासचिव पुष्पलालले देखाउनु भएको बाटोमा अहिले नेपालका कम्युनिस्टहरुले कति आत्मसात् गरेका छन् त्यो महत्वपूर्ण पक्ष हो । नेताहरुको स्मृति दिवसका दिन ठूला ठूला कुरा गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको दीर्घ रोग हो । फुट र गुटको संस्कारमा हुर्किएको नेपाली कम्युनिस्ट आन्दोलन चिरा चिरामा विभाजित छ । कसैले कसैको अस्तित्व स्वीकार गर्न सक्दैनन् । तर तिनै महान नेता पुष्पलालको आ–आफ्नै ढङ्गले स्मृति दिवस बनाउने गर्दछन् ।

विक्रम संवत १९८१ असार १५ गतेका दिन रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मनुभएका पुष्पलाल श्रेष्ठले वि.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट माथि उठाउन महत्वपूर्ण योगदान गर्नु भएका पुष्पलाल श्रेष्ठको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो । विगतमा उहाँलाई गद्दारको विल्ला भिराउने कम्युनिस्ट नेताहरु अहिले आफुलाई उहाँको सच्चा अनुयायी भन्न रुचाउने गरेका छन् । ति नेताहरु अहिले कुनै न कुनै रुपमा नेपाली राजनीतिको केन्द्रीय सत्तामा विराजमान भैरहेका छन् ।

वि.सं. २००५ सालमा पुष्पलालले विश्व सर्वहारावादी चिन्तनका दार्शनिक कालमाक्र्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभएको थियो । त्यसपछि उहाँले निरञ्जन वैद्यलगायत केही व्यक्तिलाई साथ लिएर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । आज पर्यन्त नेपालमा कम्युनिस्ट विचारधारा राख्नेहरुको ठूलो जमात त, तर यसको स्वयममा नेताहरुले अवमूल्यन गरिरहेका छन् । यतिबेला नेपालमा दर्जनभन्दा बढी नेपाल कम्युनिस्ट पार्टीहरु छन् । यी सबै एकैठाउँमा एकतावद्ध भने हुँदैनन् । जुट्ने र फुट्ने नेपाली कम्युनिस्ट आन्दोलनको पर्याय नै बनेको छ । साँच्चै पुष्पलाल श्रेष्ठप्रति न्याय गर्ने हो भने उहाँले देखाएको नेपालीपनको कम्युनिस्ट आन्दोलन एकै ठाउँमा गोलबन्द हुन सक्नु नै अहिलेको आवश्यकता हो ।