काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाउनुभएको छ । साउन ५ अर्थात् हिजोको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाइएको छ ।

गत साउन ३ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिनुभएको थियो । त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।