काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरिरहेको भएता पनि बैठकमा चर्चा चाहिँ माधवकुमार नेपालकै बढी छ । ओली समूहको बैठक माधव नेपालकै वरिपरि घुमेपछि एमालेका एक नेताले ठट्टा गर्दै भने– बैठक चाहिँ केपी ओलीको, तर चर्चा चाहिँ माधवकुमार नेपालको ।

एमाले बैठक आज पनि दिउँसो ३ बजेदेखि जारी रहेको हो । हिजो बसेको बैठकमा सातवटै प्रदेश कमिटीका अध्यक्षहरुले हरेक जिल्लामा पार्टीको अवस्था के कस्तो छ भन्नेबारे रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा सबै नेताहरुले स्थानीय तह, जिल्ला र प्रदेशमा माधव नेपाल पक्षको स्थिति कस्तो छ भन्नेबारे चर्चा भएको थियो ।

प्रदेश १ बाट देवराज घिमिरेले रिपोर्टिङ गर्नुभएको थियो । उहाँले सुनसरीमा पनि ओली पक्षको अवस्था राम्रो रहेको बताउँदै प्रदेश १ मा ओली पक्ष बलियो रहेको दाबी गर्नुभएको थियो । तथापि एमालेभित्र प्रदेश १ मा माधव नेपाल पक्ष बलियो रहेको मानिँदै आएको छ । बैठकमा प्रदेश २ बाट पूर्वमाओवादी नेतृ एवं एमाले प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रिपोर्टिङ गर्नुभएको थियो । ज्वाला कुमारी साहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको अर्का पूर्वमाओवादी नेता प्रभु साह असन्तुष्ट रहँदै आएको एमाले नेताहरु बताउँछन् ।

रिपोर्टिङका क्रममा ज्वालाले आफ्नै विषयमा धेरै कुरा उल्लेख गर्नुभयो । आफू क्रान्तिकारी पृष्ठभूमिबाट आएको बताउँदै उहाँले आफ्नो विगतको राजनीतिक स्टाटस हेर्न आग्रह गर्नुभयो । साथै उहाँले बारा, पर्सा, रौतहट लगायतका जिल्लामा एमालेको अवस्थाबारे बताउनुभएको थियो । रिपोर्टिङका क्रममा उहाँले अहिले पनि मधेसमा एमाले भन्दा पनि नेकपाकै ब्यानरमा कार्यक्रमहरु हुने गरेको गुनासो सुनाउनुभयो ।

बागमती प्रदेशका तर्फबाट आनन्दप्रसाद पोखरेलले रिपोर्टिङ गर्नुभएको थियो । उहाँले बागमतीमा एमालेको सरकार धरापमा परेको रिपोर्टिङ गर्दै एमाले बैठकमा गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट लीला गिरी, कर्णालीबाट गोरखकुमार बोगटी र सुदुरपश्चिमबाट कर्णबहादुर थापाले रिपोर्टिङ गनुभएको थियो । रिपोर्टिङका क्रममा सबै नेताहरुले माधव नेपाल र उहाँको समूहको चर्चा गर्नुभएको थियो ।