मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनु भएको छ । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश व्याप्त रहेको बताउनुभयो ।

राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित एक अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको समेत दाबी गर्नुभयो । काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुनसक्ने तर्क व्यक्त गर्नुभयो ।

आन्तरिक विग्रह र सङ्घर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुलुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो । नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको, जनतामा चरम वितृष्णा र असन्तोष भएको उहाँको भनाइ थियो। महाधिवेशनलाई केन्द्रमा राख्दै सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिनुभएको छ । सो अवसरमा पार्टी कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिव सागर थापा लगायतले आ–आफ्नो मत राख्नुभएको थियो ।