काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने बताउनुभएको छ । हाल भारतमा उपचाररत वरिष्ठ नेता खनालसँग मङ्गलबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि आज बुधबार थापाले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

विदेशमा उपचार गर्ने कुनैपनि व्यक्तिको उपचार खर्च सरकारले उपलब्ध गराउन नमिल्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ । काङ्ग्रेसका नेता थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ,’२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ”प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन” भन्ने व्यवस्था छ र उक्त कानुन २०७५÷६÷२ गतेदेखि लागू भइसकेको छ ।’

अहिलेको अवस्थामा कसैको पनि उपचार खर्च सरकारले व्यहोर्न नपाउने उहाँको भनाइ छ । थापा भन्नुहुन्छ,’यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचार खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

वरिष्ठ नेता खनालको उपचारमा पार्टी र परिवार लागिरहेको भन्दै उपचार खर्च जुटाउनै पर्ने अवस्था आए नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पु¥याउनु भएका खनालका लागि देश विदेशमा रहेका सबै नेपाली तयार हुने थापाको भनाइ छ । केपी ओली नेतृत्वको सरकारले गरेको गैरकानुनी निर्णयको भारी यो सरकारले बोक्न नहुने थापा बताउनुहुन्छ । ओली नेतृत्वको सरकारले खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।