काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशीविदेशी शक्तिहरुबाट हमला भइरहेको बताउनु भएको छ । समाजका विभिन्न समुदायको बलिदानीपूर्ण सङ्घर्षले हाँसिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

“समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु,” बकर इदको अवसरमा शुभकामना दिँदै उहाँले भन्नुभयो– “जनताले गरेको विकास र समृद्धिको आकाङ्क्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आह्वान गर्दछु ।”

उहाँले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह गर्नुभएको छ ।