काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री रहेका छन् । सरकारमा माओवादी केन्द्रबाट पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को–को सरकारमा जाने भन्नेबारे टुङ्गो लागिसकेको छैन । यसबारे हिजो मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल समेत भएको थियो ।