काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । उक्त बैठकले संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम आगामी बैठकले टुङ्गो लगाउने सहभागी एक नेताले बताएका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईसमेत २० जना सांसदको उपस्थिति रहको थियो । प्रतिनिधिसभामा जसपाका ३४ सांसद सङख्या रहेकोमा रेशम चौधरी सहित दुई जना निलम्बनमा छन् भने बाँकी ३२ जनामध्ये बहुमत सांसदहरु उपेन्द्र यादव समूहमा र १२ जना महन्थ ठाकुर समूहमा छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले डेढ महिना अघि उपेन्द्र यादवलाई संसदीय दलको नेताबाट हटाएर राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । जसपाको विवाद पार्टी विभाजनको सङ्घारमा पुगेर अड्किएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । कसले आधिकारिकता पाउने भन्ने बारेमा निर्वाचन आयोगमा बहस भैरहको छ ।

दुवै पक्षले आधिकारिकताको दावी गर्दै आएकोले उक्त मुद्दाको छिनोफानो गर्न प्रमुख निर्वाचन आयुक्तको संयोजकत्वमा पाँच सदस्यीय इजलास समेत गठन भै सकेको छ । दुवै समूह एकै ठाउँमा नबस्ने भने पछि आधिकारिकता निम्ति आयोगले छानविन गरी आधिकारिकता कसले पाउने भनेर इजलास नै गठन गरेको थियो । आयोगले अब उक्त विवादको छिट्टै टुङ्गो लगाउने तयारी गरिरहेको छ । आयोगले विवादको निरुपण गरेपछि साउनको तेस्रो सातासम्ममा उपेन्द्र यादव समूह प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागिता हुने भएको छ ।