काठमाडौं— एमालेको असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा जाने सोच नबनाएको बताउनु भएको छ । नेता नेपालले एमाले पार्टी भित्रको विवाद समाधान गर्ने पक्षमा रहेकोले तत्काल सरकारमा जाने योजना नभएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनमा सामेल रहँदै आउनु भएका नेपालले प्रतिनिधिसभा पुनर्बहाली भए लगतै आफुहरु गठबन्धनबाट बाहिरिएको बताउनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट साउनु ३ गते विश्वासको मत पाएको भोलिपल्ट गठबन्धनमा सामेल हुन नेपाललाई आग्रह गर्नुभएको थियो । तर माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको छ ।

आज बिहान कोटेश्वरस्थित आफ्नै निवासमा वरिष्ठ नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गर्नुभएको थियो । सोक्रममा पनि दुवै शीर्ष नेताले सरकारमा सहभागी भै साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा गम्भीर छलफल भएको थियो । नेता नेपालले प्रचण्डसँगको भेटमा पनि साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने भन्दै आफुहरु तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको जानकारी समेत गराउनु भएको थियो ।


आजै प्रधानमन्त्री देउवा र सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि सोही विषयमा छलफल भएको थियो । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर जनताले अनुभूत गर्ने गरी सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न दुवै नेता सहमत हुनुभएको थियो ।


वरिष्ठ नेता नेपाल समूह सरकारमा जानका लागि पार्टी विभाजन गरेर या नयाँ पार्टी दर्ता गर्नुपर्ने अवस्था छ । पार्टी भित्रको किचलो किनारा नलाग्दा सम्म नेपाल समूह सरकारमा सामेल हुने अवस्था छैन । वरिष्ठ नेता नेपाल समूहले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेर जानका लागि सांसद र केन्द्रीय कमिटीमा कम्तिमा पनि ४० प्रतिशत जुटाउनु पर्ने हुन्छ । नेपाल समूह अब यो रणनीतिमा लाग्नेछ ।