काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको असंवैधानिक किसिमले गरेका नियुक्तिहरु खारेज गर्ने भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको छलफलका क्रममा यस्तो सहमति भएको हो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढङ्गले गरेको थियो ।

सत्ता साझेदार दलका दुवै शीर्ष नेताबीच भएको कुराकानीमा अब सरकारलाई चुस्त दुरुस्त बनाइ गतिदिन जनताले अनुभूत गर्न पाउने गरी साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा पनि छलफल गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सञ्चालन गर्ने बारेमा साझा अवधारणा बनाएर जानु पर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटमा यस्तो सहमति भएको स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले सहमतिका आधारमा सरकारलाई गतिशिल बनाउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनु भएको छ ।

यसअघि आजै बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव सरकार सञ्चालनका बारेमा विस्तृत कुराकानी भएको थियो । छलफलका क्रममा नेता नेपाल समूहबाट पनि सरकारमा सामेल हुन आग्रह गरिएको थियो ।