काठमाडौं – कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान काठमाडौंका ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यकासँगै देशका विभिन्न खोप केन्द्रहरुमा अभियान सञ्चालन भइरहेको हो ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोपको शुभारम्भ गर्नुभएको थियो । हिजो प्राथमिकतामा परेका भन्दा बाहिरका मानिसहरुको चाप खोप केन्द्रमा परेको थियो । भोलिसम्म चल्ने खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले खोप केन्द्रको संख्या बढाएर ५५ वटा खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले जानकारी दिनुभयो ।
खोप ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले लगाउँदै आएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो दिन सोमबार १९ हजार ६ सय ७१ जनाले खोप लगाएका थिए । स्वास्थ्य कार्यालय काठमाडौंको १ लाख ४६ हजार ५ सय २४ जनालाई खोप दिने लक्ष्य छ । आज ५१ र ५२ वर्ष उमेर समूहका नागरिकसँगै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले खोप पाउने भएका छन् ।
यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन पाउनेछन् ।