काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुको बैठक नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिनुभयो ।

सो बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको नेपाल पक्षका एक नेताले बताउनुभयो । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको नेपाल पक्षका एक नेताले दाबी गर्नुभयो । उहाँका अनुसार–‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं, कारबाही र स्पष्टिकरणबारे थाहा छैन’ । एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने नेपाल पक्षका एक नेताले बताउनुभएको छ । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, ।

प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा रहेका बखत आज बिहान नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गर्नुभएको छ । नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो । स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।