काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ । पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको हो ।

काङ्ग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो । तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन । छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउनु हुनेछ ।

एक नेतालका अनुसार, क्रियाशीलको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडामा पठाउन समय लाग्छ । दश दिनजति वडा अधिवेशन सर्छ,’। केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लाहरूमा पठाइन्छ । त्यसपछि मात्रै वडा अधिवेशनको तयारी पुग्छ । वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुङ्गो लगाउनुपर्ने हुन्छ ।

विवाद देखिएका जिल्लाका विवरण छानबिन समितिले केन्द्रीय समितिमै फर्काइदिएको छ । ती विवरण के गर्ने भन्नेबारे पदाधिकारी वा केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । विवाद भएका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने विकल्पबारे पनि कांग्रेसभित्र छलफल भइरहेको छ ।

छानबिन समितिका सदस्य प्रदीप पौडेका अनुसार करिब एक सय २५ वडामा क्रियाशीलबारे विवाद टुङ्गिन बाँकी छ । समितिले छानिबन गरी टुङ्ग्याएका क्रियाशीलको विवरण भने छिट्टै सभापति देउवालाई बुझाइने बताउनुहुन्छ । काङ्ग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । काङ्ग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।