काठमाडौं – नेपाल भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो । स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्याङ्क नआउँदा समस्या भएको दाबी गरेता पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशङ्का उब्जेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४ सय ८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ । पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २ सय १८ डोज खोप प्रयोग भएको देखिन्छ ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो । भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हो । नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन ।