काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको हो ।

भोलि पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखालले जानकारी दिएको छ । भोलि राति भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै बिहीबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ । त्यसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।