काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न अपिल गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाबाट पार्टी केन्द्रीय समितिमा सदस्य रहेका नेताहरुसँग छलफल गर्दै महाधिवेशनमा आफ्नो पक्षमा सहयोगका लागि याचना गर्नुभएको हो । नेता पौडेल चौधौं महाधिवेशनमा सभापति आकांक्षी हुनुहुन्छ ।


नेता पौडेलको गृहजिल्ला तनहुँबाट पार्टी केन्द्रीय समितिमा शङ्कर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल हुनुहुन्छ भने धु्रव वाग्ले आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ । आगामी अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने मनस्थिति बनाउनु भएका नेता पौडेलले आफु आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आउनु भएको छ । चौधौं महाधिवेशनमा सभापति पदको लागि अहिलेसम्म नौ जना आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, सुजाता कोइराला, डा. रामशरण महत र कृष्ण सिटौला छन् ।


वरिष्ठ नेता पौडेललाई यतिबेला कसैले समर्थन गर्ने स्पष्ट मार्गचित्र बन्न सकेको छैन । संस्थापन पक्ष यसपटक पनि बलियो देखिएको हुँदा शेरबहादुर देउवाले पुनः उम्मेदवारी दिने देखिन्छ । कोइराला परिवारका तीन जनामध्येबाट एकजना साझा उम्मेदवार बन्ने भएका छन् । विमलेन्द्र निधि र प्रकाशमान सिंह, कृष्ण सिटौला भने अहिलेसम्म सभापतिमा उठ्ने योजनामै हरेका छन् ।


यी नेताहरुको उम्मेदवारीले वरिष्ठ नेता पौडेललाई निकै सकस हुने देखिन्छ । गृहजिल्लाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु पौडेलका पक्षका होइनन् । पार्टीको अहिलेको महाधिवेशनले नेपाली काङ्ग्रेसमा धेरै गुट उपगुट जन्माउने देखिन्छ । वरिष्ठ नेता पौडेलले आफु पक्षीय नेता तथा कार्यकतालाई संरक्षण गर्न नसकेपछि पार्टीभित्र विस्तारै पछिपर्न थाल्नु भएको छ । वरिष्ठ नेता पौडेलले जिल्लाको राजनीतिमा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई किनारा लगाउन खोज्दा त्यसको प्रतिकुल प्रभाव आफैंले भोग्नु परेको तनहुँका काङ्ग्रेसी नेता कार्यकताको बुझाइ छ । दुवै नेता मिलेर गएको भए आज यस्तो अवस्था आउने थिएन भन्छन् ।


तनहुँ जिल्लामा पूर्व गृहमन्त्री जोशीको अहिले पनि राम्रै पकड रहेको छ । त्यसैले पनि पौडेललाई त्यति सहज देखिंदैन । अघिल्लो महाधिवेशनमा सभापतिमा पराजय भोग्नुभएका पौडेललाई कोइराला परिवार र अन्यको पनि ठूलो साथ थियो । अब नेता पौडेलको लागि झन प्रतिकुल बनेको छ । आसन्न महाधिवेशनमा नेता पौडेलले सभापतिको आशाङ्क्षा राख्नुभएकोमा सोही समूहबाट विरोध समेत हुन थालेको छ । हिजो उहाँलाई सहयोग गरेको कोइराला, सिटौला र प्रकाशमान सिंहहरुलाई साथ दिने देखिंदैन । यस्तो अवस्थामा जिल्लाबाट केन्द्रीय समितिमा रहेका सदस्यहरुबाट वरिष्ठ नेता पौडेलले याचना गर्नुले सार्थक परिणाम भने आउने देखिंदैन ।