काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमन्त्री देउवाले अभियानको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी पनि सहभागी रहनु भएको थियो । खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप रहेको बताउनुभयो ।

उहाँले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न पनि निर्देशन दिनुभएको छ । अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो ।

यो खोप असार २८ गते काठमाडौं आइपुगेको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जोन्सन एण्ड जोन्सन खोपका लागि काठमाडौंमा ४४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । आउँदो बुधबारसम्म यो खोप लगाइने छ ।