काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो । एमाले स्थायी कमिटीका पछिल्ला बैठक पनि सोही स्थानमा बसेका थिए ।

आजको बैठक विधान अधिवेशनमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । त्यस्तै बैठकमा समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने तामाङले बताउनुभयो ।

एमालेले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । तामाङले पनि पार्टीको अनुशासनात्मक विषय अगाडि बढ्ने बताउनुभयो ।

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । त्यस्तै १० जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन् भने भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । यसअघि ओली समूहमा रहेका आठ जना सांसदले पनि विश्वासको मत दिएका थिए ।