काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गर्ने सांसदहरुका सम्बन्धमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उहाँले बताउनुभयो ।

एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । आइतबार बसेको स्थायी कमिटि बैठकले पार्टीको आधिकारिक धारणा विपरित गएर मतदान गर्ने सांसदलाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

प्रवक्ता ज्ञवालीले नेता माधवकुमार नेपाल पक्ष आउने–नआउने निश्चित नरहेको बताउनुभयो । तर फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु ओलीले बोलाएको बैठकमा नजाने जानकारी दिनुभयो । उहाँमा अनुसार, ‘ओलीले के कति कार्वाही गर्छन् त्यो हेर्न बाँकी छ । हिजो देउवालाई मत नदिने हाम्रो खेमाका नेताहरू पनि जानु हुन्न । उहाँहरु पार्टी एकताका लागि लाग्नु हुन्छ । हिजो पार्टी एकताका लागि हामीसँग भद्र सहमतिमा उहाँहरुले देउवालाई मत नदिएको हो। उहाँहरु सबै नेता नेपालकै पक्षमा हुनुहुन्छ ।’