काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताउनुभएको हो । वरिष्ठ नेता नेपालसहित २२ जना एमाले सांसद्हरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ । संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुस्ट्याएको छ’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ ।’ साथै उहाँले जनता, लोकतन्त्र र संविधानको जित भएको बताउनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताउनुभएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा.भट्टराईले ओलीको हर्कतले उहाँको पतन हुनु स्वभाविक भएको बताउनुभयो । ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’ डा.भट्टराईले भने, ‘यो एक प्रकारको ०६५र ६६ पछि काङ्ग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’ उहाँले यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत बताउनुभयो ।